Section 113
कर फिर्ता र हिसाब मिलान
(१) कुनै व्यक्तिले आफूले दाखिला गर्नुपर्ने कर दायित्वभन्दा बढी हुने गरी कर बुझाएकोमा बढी दाखिला गरेको कर रकम निजले यस ऐन बमोजिम दाखिला गर्नुपर्ने कर रकमबाट घटाउन विभागले निर्देशन दिन सक्नेछ । यसरी घटाउँदा बढी हुन गएको जति रकम विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिले दफा ११९ बमोजिम दाखिला गरेको ब्याजसँग सम्बन्धित कर दाखिला गर्न नपर्ने भएमा विभागले यस्तो ब्याज सो व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

(३) कुनै व्यक्तिले उपदफा (१) बमोजिम रकम फिर्ता पाउन तोकिए बमोजिम विभागमा निवेदन दिएमा विभागले निवेदन परेको मितिले साठी दिनभित्र त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवेदन देहायको मितिमध्ये पछिल्लो मितिबाट दुई वर्षभित्र दिनु पर्नेछ । सो म्यादभित्र निवेदन नदिएमा उपदफा (१) बमोजिमको रकम फिर्ता हुने छैनः-

(क) बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मिति,

(ख) बढी रकम दाखिला गरिएको मिति, वा

(ग) मुद्दा फैसला भएको मिति ।

(५) उपदफा (३) बमोजिम परेको निवेदनका सम्बन्धमा विभागले गरेको निर्णयको लिखित सूचना विभागले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

(६) अदालतको आदेशले वा अन्य कारणबाट विभागले करको कुनै रकम. कुनै व्यक्तिलाई फिर्ता दिँदा विभागले देहाय बमोजिमको अवधिको सामान्य दर बमोजिमको ब्याज समेत त्यस्तो व्यक्तिलाई दिनु पर्नेछः-

(क) त्यस्तो कर फिर्ता दफा ९३, ९४ वा १०० बमोजिम कुनै व्यक्तिलाई कुनै आय वर्षमा उपलब्ध भएको अधिक कर मिलानसँग सम्बन्धित भएमा दफा ९६ बमोजिम आय विवरण पेश गर्नुपर्ने मितिदेखि कर फिर्ता दिएको मितिसम्मको अवधि, र

(ख) अन्य कुनै अवस्थामा त्यस्तो व्यक्तिले फिर्ता हुने कर बुझाएको मितिदेखि फिर्ता दिएको मितिसम्मको अवधि ।

(७) कुनै आय वर्षमा दफा ५१ वा ७१ बमोजिम दाबी गर्न सकिने कर कट्टी मिलान र त्यस्ता कर कट्टीलाई यस उपदफा बमोजिम हिसाब मिलान गर्न वा फिर्ता दिन सकिने छैन ।

तर सो वर्षमा कर कट्टी मिलानलाई दफा ४ को उपदफा (२), दफा ५१ को उपदफा (४) र दफा ७१ को उपदफा (३) मा गरिएको व्यवस्था बमोजिम गर्न सकिनेछ ।